नेभिगेशन
सुरक्षा अपडेट

चुम्बकले खोज्दा पनि फेला परेनन् त्रिशुलीमा बेपत्ता भएका बस, आखिर कहाँ हराए ती बस?

चितवन । आज बिहान नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाएर त्रिशुलीमा बेपत्ता भएका दुई यात्रुबाहक बसको अझै केहि पत्तो लाग्न सकेको छैन ।

आज बिहानैदेखि उद्धार तथा खोजीकार्य गरिरहेको सुरक्षाफौजले अहिलेसम्म दुबै बस र बेपत्ता यात्रुहरुलाई फेला पार्न नसकेको चितवन प्रहरीले जानकारी दिएको छ। अथक प्रयास गर्दा पनि असफल भएपछि अहिले सुरक्षाफौज बेपत्ता बसको खोजीका लागि चुम्बक लगाएर काम गर्दा समेत सफल हुन सकेको छैन ।

त्रिशुलीमा पानीको बहाव अत्यधिक र धमिलो भएकाले गहिराइसम्म सशस्त्र प्रहरीको गोताखोर पुग्न सक्ने अवस्था छैन । त्यसकारणले चुम्बक फालेर बसको खोजी सुरु गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

त्यसैगरी बस खोज्न हुक लगाएर पनि खोजी भइरहेको छ । लामा–लामा बाँसका भाटा तथा रडको सहायताले पनि खोजी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । तर प्रयास असफल भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

बस नदी किनारमा पहिरोमा पुरिएको हुनसक्ने पनि आशंका गरिएको छ । तर अहिले नै पहिरो पन्छाएर खोज्न सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ। बसलाई बगाएर तल लगिएको आंशका देवघाटमा समेत सशस्त्र प्रहरीको टोलीले खोज्दा समेत फेला परेका छैनन् ।

आज बिहान साढे ३ बजे काठमाडौँबाट गौर जाँदै  गरेको गणपति डिलक्स  र वीरगञ्जबाट काठामाडौँ जाँदै गरेको एन्जट बस लेदोसहितको  पहिरोमा बेपत्ता भएका हुन् ।

अहिले सशस्त्र प्रहरीको विपद् व्यवस्थापन शिक्षालयबाट सशस्त्रका एसएसपी माधव पौडेलको कमान्डमा ७० जना विपद्को टोली, प्रहरी र सेनाको टोली खोजतलासमा खटिरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्