काठमाडौं । मानव बेचबिखन ब्युरोले एक महिलालाई कुवेत लगेर बेच्ने एक पुरुषलाई पक्राउ गरेको छ।
भिजिट भिसामा कुवेत पुर्याएर मानव बेचबिखन गरेको आरोपमा ब्युरोले मोरङ रंगेली नगरपालिका ३ का ५७ वर्षीय जयन्द्रकुमार अधिकारीलाई पक्राउ गरेको छ।
उनलाई मानव बेचबिखन ब्युरो काठमाडौँको टोलीले बुधबार ललितपुर महानगरपालिका २४ बाट पक्राउ गरेको जानकारी दिएको छ।
ब्युरोका एसपी गौतम मिश्रका अनुसार उनले एक महिलालाई दुबईको कम्पनीमा काम लगाइदिने भन्दै विश्वास दिलाएका थिए। उनले त्यहाँ रहेका अर्का व्यक्तिसँग मिलेमतो गरी मासिक ४० हजार तलब हुने भन्दै महिलाको अन्तर्वार्तासमेत लएका थिए।
लागत खर्च भनी अधिकारीले महिलाबाट २ लाख नगद लिएको एसपी मिश्रले बताए ।
अधिकारीले सुरूमा भिजिट भिसामा महिलालाई २०७९ जेठ १६ गते दुबई पुर्याएका थिए। दुबईमा पुगेपछि अर्का व्यक्तिको जिम्मा लगाए। एसपी मिश्रका अनुसार ती व्यक्तिले आफू बस्ने फ्ल्याटमा महिलालाई पुर्याए।
उनले ती महिलालाई घरेलु काममा लगाएर चरम यौनशोषण गरी गर्भपतन समेत गराएको खुलेको मिश्र बताउँछन्।
त्यसपछि ती व्यक्तिले दुबईमा भन्दा कुवेतमा राम्रो तलब हुन्छ, अफिस क्लिनर हो भन्दै २०८० वैशाख २८ गते दुबईबाट कुवेत पुर्याएर अर्का एजेन्टको जिम्मा लगाए।त्यहाँ पुगेपछि ती एजेन्टले बन्धक बनाएर चरम यौन शोषण गरेको एसपी मिश्रले बताए।
आफूमाथि शोषण सहन नसकेर ती महिलाले एजेन्टलाई नेपाल फर्काइदिन अनुरोध गरिन्।
रकम बुझाउन भनेपछि उनले आफन्तमार्फत् ६ लाख ७५ हजार रुपैयाँ तिरेपछि ती एजेन्टले मुक्त गरिदिए। एसपी मिश्रका अनुसार त्यसपछि ती महिला २०८० मंसिर ३ गते नेपाल फर्केर ब्युरोमा जाहेरी दिएकी थिइन्।
जाहेरी पस्चात अधिकारीलाई खोजी गरिरहेको प्रहरीले बुधबार पक्राउ गरी अदालतबाट ५ दिन थपेर थप अनुसन्धान गरिरहेको एसपी मिश्रले जानकारी दिएका छन्