कैलाली । सुदूूरपश्चिम प्रदेशबाट सशस्त्र प्रहरी बलले आर्थिक वर्ष २०८०-०८१ मा साढे १० करोड रुपैयाँ बढीको अवैध सामग्री बरामद गरेको छ । सशस्त्र प्रहरी बल नंं. ७ बैद्यनाथ बाहिनीका बर्तमान सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआइजी) दीपक अधिकारीको कमाण्डमा रहेको सुदूूरपश्चिम प्रदेशबाट गत आर्थिक वर्ष २०७९-०८० को भन्दा ३८.९९ प्रतिशत बढी अवैध सामाग्री बरामद गर्न सफल बनेको छ ।
आर्थिक वर्ष २०७९-०८० मा ७ करोड ६२ लाख ७० हजार १९१ रुपैयाँको सामाग्री बरामद गर्दा २०८०-०८१ मा सशस्त्र प्रहरीले १० करोड ६० लाख १० हजार ७३८ रुपैयाँ बराबरका अवैध सामग्री बरामद गरेको डीआइजी अधिकारीले जानकारी दिएका छन् । जसमा खाद्यान्नदेखि अन्य ठुला सामग्री रहेका छन् ।
लागुऔषधविरुद्धको कारबाही-
सशस्त्र प्रहरीले सुदूूरपश्चिममा अवैध सामग्री मात्रै बरामद नगरेर लागुऔषधविरुद्धको अभियान अन्तर्गत पनि ठूलो परिमाणमा प्रतिवन्धित औषधिदेखि खैरो हेरोइनसम्म बरामद गरेको छ । जस अनुसार सशस्त्र प्रहरीले सुदूूरपश्चिमबाट २९.४९ ग्राम ब्राउन सुगर, १३.६९ ग्राम खैरो हेरोइन बरामद गरेको हो । उक्त परिमाण अत्यधिक ठूलो मात्रा रहेको नेपाल प्रहरीका अपराध अनुसन्धानमा कार्यरत अधिकृतहरु बताउँछन् ।
त्यसैगरी सशस्त्र प्रहरीले १.६० किलो चरेस पनि बरामद गरेको हो भने प्रतिवन्धित औषधितर्फ ठूलो परिमाणमा नाइट्राभेट-३ ट्याबलेट, स्पास- ९ ट्यावलेट, डाइजेपाम इन्जेक्सन २ एमएल (५एमजी), प्रोमेथिएन हाइड्रोक्लोरोरिड इन्जेक्सन २ एमएल (२५ एमजी), बुप्रोफिन इन्जेक्सन, प्रोक्सीवेल स्पास, टर्माडोल हाइड्रोक्लोरिड क्याप्सुल, नाइट्राजेपाम क्याप्सुल र भेग्रा जस्ता प्रतिवन्धित औषधि बरामद गरेको सशस्त्र प्रहरी बल बैद्यनाथ बाहिनीले जनाएको छ । यस दौरानमा सशस्त्र प्रहरीले प्रतिवन्धित औषधि र लागुऔषधसहित पक्राउ गरेका ५२ जनालाई आबश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाएको जानकारी दिएको छ ।
मानव बेचबिखनमा परेकाको उद्धार-
सशस्त्र प्रहरीले मानव बेचबिखनविरुद्धको अभियानमा एक वर्षमा कयौं महिलाको उद्धार गरेको छ । विभिन्न प्रलोभनमा पारेर भारततर्फ लिएर जाँदै गरिएका ३८ जना महिलाको सशस्त्र प्रहरीले विभिन्न स्थानबाट सकुशल उद्धार गरेको हो । सशस्त्र प्रहरीले उद्धार गरेका महिलाहरूलाई विभिन्न संघसंस्थामार्फत परिवारको जिम्मा लगाएको डीआइजी अधिकारीले बताए ।
हातहतियार तथा विष्फोटक पदार्थ बरामद-
सशस्त्र प्रहरीले सुदूूरपश्चिमका विभिन्न जिल्लाबाट हतियार तथा विष्फोट पदार्थ बरामद समेत गरेको छ । सशस्त्र प्रहरीले चेकजाँचका क्रममा शंकास्पदरुपमा पेस्तोलसहित अन्य विष्फोट पदार्थ बरामद गरेको हो । जसमा सशस्त्र प्रहरीले २ किलो गन्धक, १० किलो सुरा, एक थान पेस्तोल र १३ राउन्ड गोली बरामद गरेको हो।
विपदमा उद्धार-
यस मनसुन विपदमा सशस्त्र प्रहरी नै जनताको सारथी बनेको छ । आफ्नो ज्यानको प्रवाह नगरेर सशस्त्र प्रहरीका सकल दर्जाले जनताको ज्यानको रक्षा गर्न अहंं भूमिका खेलेका छन् । हालसम्म देशभरमा विपदबाट १२४ बढीको ज्यान गएको छ ।
जसमा सुदूूरपश्चिमस्थित सशस्त्र प्रहरीले मनसुनकै समयमा ११९ दुर्घटना हुँदा ४५ जनालाई जिवितै उद्धार गर्दा मृत्यु भएका २८ जनाको शव बरामद गरेको छ । यस दौरानमा ३५५ जना सशस्त्र प्रहरी परिचालन भएको डीआइजी अधिकारीले जानकारी दिएका छन् ।
त्यस्तै प्रदेशभरको १४८ आगलागीका घटनामा ४ जनाको मृत्यु हुँदा सशस्त्र प्रहरीले २ जनालाई जिवितै उद्धार गरेको थियो । यस कार्यमा १४९५ जना सशस्त्र प्रहरी परिचालन भएका थिए ।
सशस्त्र प्रहरीले अविरल वर्षासँँगै आएको बाढीका कारण भएको ३६ डुबानका घटनामा ५०९ जन जनशक्ति परिचालन भई १६ जनाको शव बरामद गर्दा २७ जनाको सकुशल उद्धार गरेको थियो ।
जेठ १९ देखि असर २५ गतेसम्मको कठिन समयमा सशस्त्र प्रहरीले सुदूूरपश्चिमभर विपद घटनामा ६३ वटा बाढी र डुबानका घटनामा उद्धार कार्य उत्कृष्टरुपले गर्न सफल भएको छ । सशस्त्र प्रहरीले पहिरोले अवरुद्ध भएका २५ सडकको पहिरो पन्छाउँदै सडक सुचारु गरेको थियो ।
त्यस्तै उक्त विपदमा ११ जनाको मृत्यु हुँदा १ जना बेपत्ता र २ जना घाइते तथा ९८ जनालाई सकुशल उद्धार गरेको थियो । ती घटनामा १०९४ सशस्त्र परिचालन हुँदा जोखिममा परेका ३४ सय ३५ जनालाई सुरक्षित स्थानमा सशस्त्र प्रहरीले स्थान्तरण गरेको थियो।
सुदूूरपश्चिम प्रदेशस्थित सशस्त्र प्रहरी बलका डीआइजी अधिकारीका अनुसार मनसुनको समयमा विपदका घटनामा आपतकालीन उद्धार, खोजतलास गर्न कैलालीको अत्तरिया, बनवेहडा, धनगढी, खोनपुर, भजनी, खक्रौल, डुडुझारी, कन्चनपुरको झलारी, दोधारा-चाँँदनी, बेलौरी, जिमुवा, डोटीको दिपायल, डडेल्धुराको खंंलगा, परिगाउँ, अछामको सदरमुकाम मंगलसेन लगायतका २१ स्थानमा विपद् व्यवस्थापन टोली तत्काल परिचालन हुने गरी स्ट्याण्डबाइ हालत राखिएको छ ।
त्यस्तै विपदका लागि अत्तरियामा गोताखोरसहित विपद् उद्धार टोली मास क्याजोएल्टी भेकल र एम्बुलेन्ससहित २४ घन्टा तयारी हालतमा अधिकारीले जानकारी दिएका छन् ।
यसैगरी सुदूरपश्चिम प्रदेशको विपद् जोखिम नक्साङ्कन गरी सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा विपद घटना हुने सक्ने स्थानहरुमा ३५-३५ जनाको ९ वटा विपद् रेस्पोन्स टिम निरन्तर परिचालन भई स्थानीय बासिन्दाहरुलाई विपद जोखिम न्यूनीकरण सम्बन्धि सचेतनामूलक कार्यहरु संचालन गरिरहेको डीआइजी अधिकारीले बताए।
अहिले मनसुनको समय भएकाले सुदूूरपश्चिममा जोखिम हुने स्थानमा जथाभावी नजान र हेलच्र्याइंँ नगर्न डीआइजी अधिकारीले बताउँदै विपदको जोखिम हुने देखिए तत्कालै सशस्त्र प्रहरीलाई खबर गर्न सम्बन्धित सबैमा आग्रह समेत गरेका छन् ।
तस्बिरहरु-