काठमाडौं । पूर्वीअफ्रिकी देश केन्यामा संसद भवन छिर्न खोज्ने प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको छ। मंगलबार संसद भवन पुगेका प्रदर्शनकारीलाई तितरबितर गर्न प्रहरीले गोली चलाउँदा हालसम्म कम्तीमा पाँचको मृत्यु भएको रोयटर्सले जनाएको छ।
सो घटनामा दर्जनौं घाइते भएका छन्। त्यस्तै संसद भवनको केही भागमा आगो लागेको छ।
आर्थिक संकटको सामना गरिरहेका बेला केन्या सरकारले कर वृद्धि गर्ने कानुन ल्याएको भन्दै प्रदर्शनकारीहरूले विरोध गरेका हुन्। संसदमा उक्त कानुन पेस भएको भनेपछि आक्रोशित भीड संसद भवन छिर्न खोजेको थियो।
सिटिजन टिभीका अनुसार दिउँसो प्रदर्शनकारीहरू सिनेट चेम्बरमै पुगेका थिए। प्रवेश गर्ने क्रममा उनीहरूले प्रहरीलाई लखेटेका थिए। सुरूमा प्रहरीले अश्रु ग्यास र पानीको फोहोरा प्रहार गरेको थियो। भीड नियन्त्रण हुन नसकेपछि गोली चलाएको हो।
रोयटर्सका एक पत्रकारले संसद भवनबाहिर कम्तीमा पाँच जना प्रदर्शनकारीको शव भएको बताएका छन्। तर घटनास्थलमा भएका पारामेडिक भिभियन अचिस्ताले कम्तीमा दस जनाको गोली लागेर मृत्यु भएको उल्लेख गरेका छन्। अर्का पारामेडिक रिचर्ड नगुमोका अनुसार ५० भन्दा बढी व्यक्तिहरू गोली लागेर घाइते भएका छन्।
प्रदर्शनकारीहरूले सांसदहरूको राजीनामा माग गर्दै संसद भवन बन्द गर्न चाहेको बताएका छन्।
'हामी संसद भवन बन्द गर्न चाहन्छौं। हरेक सांसदले राजीनामा दिनुपर्छ,'संसद भवन छिर्न प्रयासरत प्रदर्शनकारी डेभिस ताफारीले भने,'हामीसँग नयाँ सरकार हुनेछ।'
प्रदर्शनकारीहरूलाई प्रहरीले अन्ततः संसद भवनबाट बाहिर निकालेको र सांसदहरूलाई पनि भूमिगत सुरूङमार्फत उद्धार गरिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।
पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामाका बहिनी पर्ने केन्याली कार्यकर्ता औमा ओबामा पनि प्रदर्शनमा सहभागी थिइन्। प्रदर्शनका क्रममा आफू अश्रु ग्यासबाट प्रभावित भएको उनले सिएनएनलाई दिएको अन्तर्वार्तामा बताएकी छन्।
केन्याका विभिन्न सहर र गाउँहरूमा पनि प्रदर्शन र झडप भएका थिए। धेरैले राष्ट्रपति विलियम रूटोको राजीनामा माग गर्दै कर वृद्धिको विरोधमा आवाज उठाएका थिए।
यही तनावग्रस्त अवस्थाका बीच सांसदहरूले कर वृद्धि गर्ने कानुन पारित गरेका छन्। यो विधेयक अब प्रमाणीकरणका निम्ति राष्ट्रपतिकहाँ पठाइनेछ।