नेभिगेशन
नेपाल प्रहरी

धनुषामा ३ सय २० साइबर क्राइमका उजुरी पर्दा दुर्घटनामा ७३ ले ज्यान गुमाए

धनुषा  । जिल्ला प्रहरी कार्यालय धनुषामा गत आर्थिक वर्ष २०८०-८१ मा ‘साइबर क्राइम’ सम्बन्धी ३ सय २० वटा उजुरी दर्ता भएका छन् ।

जिल्ला प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले कार्यालयमा दर्ता भएका मध्ये दुई सय ७८ उजुरी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको तथा त्यसमध्ये ४० वटा उजुरी फर्छ्यौट भएको जानकारी दिए । बाँकी उजुरीमा आवश्यक कारबाही तथा फर्छ्यौट प्रक्रिया अगाडि बढाइएको उनले बताए । 

यसैगरी गत आवमा अनुचित  लेनदेन (मिटरब्याजी) सम्बन्धी एक हजार एक सय ४५ वटा निवेदन दर्ता भएकामा छ सय दुईवटा मुद्दा फर्छ्यौट भएको प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । यसक्रममा २५ बिघाभन्दा बढी जग्गा पीडितलाई फिर्ता गराइएको र रु २४ करोड ५९ लाखभन्दा बढी रकम रकम असुल गराइएको  थियो ।

सोही अवधिमा आठ सय ७९ फरार प्रतिवादी पक्राउ गर्न सफल भइएको तिवारीले बताए । साथै भन्सार चोरी–निकासीबाट  ९ करोड ५६ लाख तीन हजारभन्दा बढी रकम राजस्व सङ्कलन गरिएको, ठूलो मात्रामा लागुऔषध जफत, जनकपुरको विभिन्न स्थानमा ७४ वटा नयाँ सिसिटिभी जडान तथा ६२ वटा मर्मत गराइएको कार्यालयले जनाएको छ । 

गत आवमा एक हजार ९० वटा सवारी दुर्घटना, ७३ जनाको मृत्यु, चार सय पाँचजना गम्भीर घाइते तथा एक हजार तीन सय २० जना सामान्य घाइते भएका प्राप्त विवरणमा उल्लेख छ । रासस।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्