नेभिगेशन
नेपाल प्रहरी

विदेश पठाउने भन्दै १८ लाख रुपैयाँबढी ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंको टोलीले वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै  १६ लाख रुपैयाँ बढी ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सुर्खेत चिङगाड गाउँपालिका–५ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–७ बस्ने ३२ वर्षीय सुरेश राना तथा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका–२ घर भई हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिका–९ बस्ने ३३ वर्षीय राजेश विष्ट रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजिकुमार आचार्यले जानकारी दिए ।

उनले भने, “युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा इटाली, रोमानिया, दुबईलगायत देशमा पठाइदिने भन्दै पीडितहरुबाट  १६ लाख रुपैयाँ बढी रकम लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरुको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।”

सुरेशले आठजना पीडितबाट १५ लाख ९३ हजार पाँच सय रुपैयाँ  र राजेशले एकजना पीडितबाट  एक लाख ८० हजार रुपैयाँ ठगी गरेको खुल्न आएको प्रवक्ता आचार्यले बताए । सुरेशलाई ललितपुरबाट र राजेशलाई काठमाडौँ गौशालाबाट पक्राउ गरिएको हो । 

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता आचार्यले जानकारी दिए । रासस।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्