डा. बद्रीप्रकाश ओझा- चरित्र हत्या अथवा क्यारेक्टर असासिनेसन (सीए) भन्नाले चरित्रको माध्यमबाट व्यक्तिको प्रतिष्ठा वा विश्वसनीयतालाई जानीजानी नष्ट गर्नु हो । सीएको औजारका रूपमा नकारात्मक अभियान, अफवाह फैलाउने वा उपनामबाट अनलाइनमार्फत मानहानी लगायतका विषयहरूको प्रयोग गरिन्छ ।
सीए सम्बन्धी अध्ययन तथा अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय संस्था कार्पका अनुसार सीएलाई वर्तमान राजनीतिको एउटा सामान्य घटनाका रूपमा लिइन्छ । सीए अभियान गर्नेहरूले खासगरी समाजमा प्रतिष्ठा कमाएकाहरूमाथि आक्रमण गर्दछन् । नेतामात्र नभइ सेलिब्रिटीहरू, खेलाडी, वैज्ञानिकहरू र उच्च सार्वजनिक प्रोफाइल भएका व्यक्तिविरुद्ध पनि सीए प्रयोग गरेको पाइएको छ । यतिमात्र होइन सामान्य जीवन बिताइरहेका मानिसलाई पनि उनीहरूले टार्गेट गर्छन् ।
सीए अभियन्ताहरू सामाजिक सञ्जालमा छद्म नामले आउँछन् र आफैँ पीडित भएको जिकिर गर्दै अर्को साँच्चिकै पीडितको निजी जीवन, मूल्य र पहिचानलाई लक्षित गर्छन् । उनीहरू पहिचान बनाएका मानिसहरूलाई बदनाम गरी उनीहरूलाई तिरस्कार र उपहासको पात्रका रूपमा स्थापित गर्ने प्रयास गर्दछन् ।
कार्पमा खासगरी अमेरिकाको जोन म्याडिसन विश्वविद्यालय र नेदरल्यान्ड्सस्थित आर्म्स्टर्डम विश्व विद्यालयका अध्येताहरू संलग्न छन् । उनीहरूले सीएको इतिहास तथा वर्तमान आयाम, शिक्षाक्षेत्र र स्रोता तथा दर्शक समुदायलाई सीएका कारणबारे जानकारी दिने, सीएको असर तथा यसबाट हुने हानिबारे अध्ययन गरी जोखिममा परेका व्यक्तिहरूलाई जोगाउँने रणनीतिलगायतका विषयमा अनुसन्धान गर्दछ ।
कार्पमा अनुसन्धानरत विभिन्न अध्येतामध्येकी एक एलिसन पियर्सनले चलचित्र नायक केभिन स्पेसीसँग अन्तर्वार्ता लिइन् । सन् २०१७ पछि ह्यास्ट्याग मिटुको प्रभाव बढ्दै गएका बेला स्पेसीमाथि यौन दुराचारको आरोप लाग्यो । उनको कमाइ ह्वात्तै घट्यो । जेल नै परे तर सन् २०२२ मा अदालतले सफाइ दियो । उनको गुमेको छवि सुधार्नमा पियर्सनको टेलिभिजन अन्तर्वार्ताले निकै ठूलो काम गरेको थियो ।
कार्पले सन् २०१७ मा आयोजना गरेको विश्व सम्मेलनले तयार पारेको प्रतिवेदनमा सीएका तरिकामध्ये स्प्रिंकलले पानी छर्के जस्तै गरी नकारात्मक सन्देशहरू फैलाइन्छ र लक्षित व्यक्तिको मानमर्दन गरिन्छ ।
कार्पजस्तै अर्को विश्व संस्था इस्काका अनुसार सीएका विभिन्न आयाममध्ये नार्सिसिस्टहरूको अभियान पनि एक हो । अरुलाई दुःख दिएर आफूहरू मस्ती मार्ने वा व्यक्तिगत लाभका लागि अरुको मानमर्दन गर्दा आफूलाई हर्षित ठान्दछन् । नार्सिसिस्टहरू अरुको मानमर्दन गरेर आफ्नो उद्देश्य पूरा गर्न उद्दत रहन्छन् र यसका लागि उनीहरू आफैँले तयार पारेका मिथ्यांकलाई तथ्यांकका रूपमा प्रस्तुत गर्दछन् ।
नार्सिसिस्टसम्बन्धी अध्येताहरू क्रो एमएल, विस बी लियाम, डीआर क्यामबेल तथा डब्लू के तथा मिलर जेडीको संयुक्त अध्ययनले नार्सिसिज्मलाई मानसिक समस्याका रूपमा इंगित गरेको छ । यस अध्ययनले पनि नार्सिसिस्टले अरुको मानमर्दन गर्न मिथ्यांकहरूलाई तथ्यांकका रूपमा स्थापित गर्न खोज्दछन् र आफ्नो उद्देश्य प्राप्तिका लागि प्रयास गर्दछन् भन्ने नै निष्कर्ष निकालेको छ । यस्तै क्रिजान जे र हर्लेस एडीको अध्ययनले नार्सिसिस्टहरू कल्पनाको संसरमा बाँची आफ्ना मुद्दाहरूलाई स्थापित गर्न प्रचार शैली अपनाउँछन् ।
दुवै अध्ययनले देखाए अनुसार नार्सिसिस्टहरू समकालीनमा समाजमा व्याप्त मान्यता तथा समाजमा विकसित हुँदै गरेका मूल्यहरूलाई ढालका रूपमा प्रयोग गरी व्यक्तिगत लाभ लिने प्रयास गर्दछन् । उनीहरूले संवेगलाई मुख्य मुद्दाका रूपमा उठाउँछन् र यसैका माध्यमबाट आफ्नो पक्षमा जनमत तयार पार्दछन् ।
नार्सिसिस्टहरूलाई टेलिभिजन र सामाजिक सञ्जालले निकै सहयोग गरेको अध्ययनहरूले देखाएका छन् । सामाजिक सञ्जाल मात्र नभइ सञ्चारमाध्यमले पनि नार्सिसिस्टहरूका मुद्दालाई स्थान दिन्छन् । अमेरिकामा सन् २००२ देखि २००९ सम्म पत्रपत्रिकामा नार्सिसिस्टका मुद्दाले पाएको स्थानमा पाँच हजार प्रतिशतले वृद्धि भएको अध्ययनहरूले देखाएका छन्।
अमेरिकाको नेशनल लाइब्रेरी अफ मेडिसिनले सन् २०२१ मा प्रकाशित गरेको अनुसन्धान आलेखअनुसार मानिसहरूमा विकास हुने जानुजियन पर्सनालिटी कन्सट्रक्ट अथवा दुुईजिब्रे व्यक्तित्वका कारण अरुलाई सताएर रमाउने गर्दछन् । यस्ता मानिसहरू आफ्नो सौन्दर्य तथा सफलतालाई नै आफ्नो प्रभावको मुख्य स्रोत मान्दछन् ।
उनीहरू अरुले आफूलाई विशेष स्थान दिउन् भन्ने आशा गर्दछन् । जब उनीहरूको भावनामा सामान्य चोट लाग्दछ, उनीहरू आकाशै खसेजस्तो गरी हल्ला गर्दछन् । यसरी प्रचारमा उत्रिन्छन् कि उनीहरूको मुद्दाले नै समाजमा प्रभाव छोडोस्, उस्तै परे रुवाबासी गरेरै भए पनि आफूहरू स्थापित हुने प्रयास गर्दछन् । उनीहरू जसरी भए पनि आफूलाई उत्कृष्ट पात्रका रूपमा स्थापित गर्न चाहन्छन् । उनीहरूलाई अरुको भावनासँग मतलब हुँदैन र भरसक आफ्नै मात्र तर्क स्थापित गर्ने प्रयास गर्दछन् । यसो गर्न गाह्रो भए लैंगिक विभेद वा संवेगात्मक स्थितिहरूलाई अगाडि ल्याउँछन् ।
उनीहरू प्राकृतिक रूपमै आफूहरू विशेष प्राणी भएको दाबी गर्दछन् र आफ्नो मुद्दा स्थापित गर्न अरुलाई हतियार बनाउँछन् । यतिबाट अभिष्ट पूरा नभए आफ्नो सौन्दर्य वा अरुको सामान्य गल्तीलाई हतियारका रूपमा प्रयोग गर्दछन् । भरसक आफ्नो आलोचना सुन्नु नपरोस् भन्ने सोच्दछन् । केही गर्दा नसकिए उनीहरू अरुको निजी जीवन र पारिवारिक सम्बन्धमा समेत प्रभाव पार्दछन् ।
यस्ता मानिसलाई कसरी सहयोग गर्न सकिन्छ त ?
अस्ट्रलियाका मनोविज्ञ तथा लेखक डा। रोन पासफिल्डका अनुसार नार्सिसिस्टहरूलाई सहयोग गर्ने माध्यम औषधी उपचार, मनोचिकित्सा त यसै महत्वपूर्ण हुन्छन् नै । ध्यान पनि अर्को महत्वपूर्ण विषय हो जसले नार्सिसिस्टहरूलाई प्राकृतिक रूपमै सामान्य जीवनयापन गर्न सहयोग गर्दछ । ध्यानले मानिसको नकारात्मक सोचमा कमी ल्याउने हुनाले नार्सिसिस्टहरूलाई सकारात्मक बनाउन सहयोग गर्दछ ।
यसैगरी अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयकी प्राडा। बोनी डुरानका अनुसार नार्सिसिस्टहरूमा म ठूलो हुँ भन्ने भावना विकास हुने हुनाले उनीहरू आफ्नो कुण्ठा अरुमाथि थोपर्छन् । यस्ता समस्याबाट उनीहरूलाई मुक्त पार्न ध्यानको उपयोग गर्न सकिन्छ । उनका अनुसार ध्यानले दिमागमा खुशी हर्मन उत्पादन गरिदिने हुनाले विस्तारै नार्सिसिस्टहरू सकारात्मक बन्दै जान्छन् । हाम्राकुरा