नेभिगेशन
विपद घटना

शनिबार पौने २ बजेसम्म काठमाडौं उपत्यकाको बाढीमा २१ र कोशीमा पहिरोबाट ५ जनाको मृत्यु

काठमाडौं । लगातार  शुक्रबारदेखि परिरहेको अविरल वर्षाका कारण काठमाडौं उपत्यका र कोशी प्रदेशमा शनिबार पौने २ बजे दिउँसोसम्म २६ जनाको मृत्यु भएको छ। काठमाडौंका तीन जिल्लामा मात्र २१ जनाको मृत्यु भएको छ। उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी विनोद घिमिरेका अनुसार, बाढीमा परेर काठमाडौं र ललितपुरमा ९-९ र भक्तपुरमा ३ जनाको मृत्यु भएको छ ।

एसएसपी घिमिरेका अनुसार, काठमाडौंमा ८, ललितपुरमा ३ र भक्तपुरमा १ जना घाइते छन् भने तीन जिल्लामा गरेर ६ जना बेपत्ता छन् । प्रहरीका अनुसार, काठमाडौंमा २२६ घर डुबानमा परेका छन् भने नेपाल प्रहरीबाट  एसएसपीको नेतृत्वमा ३ हजार ६० जनाको उद्दार टोली खटिएको छ ।

ललितपुरका पनि अधिकांश स्थानमा पानी पसेको छ । नखिपोटमा उद्दारमा ढिलाइ हुँदा शनिबार बिहान ४ जना बेपत्ता भएका थिए । तर, केही तल तीन जनालाई प्रहरी र स्थानीय मिलेर उद्दार गरेका छन् । ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालका अनुसार, उद्दार गरेर प्रहरी प्रभाग भैंसेपाटीको गाडीमा पाटन अस्पताल पुर्याइएको छ ।

भक्तपुरमा ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते छन् । भक्तपुरमा पनि अधिकांश स्थानमा पानी पसेको छ भने प्रहरी उपरीक्षकको कमाण्डमा १२० जना प्रहरी परिचालित भएको घिमिरेले बताए ।

एसएसपी घिमिरेका अनुसार, काठमाडौंबाट विपद् व्यवस्थापन महाशाखा सामाखुशीबाट प्रहरी निरीक्षकको नेतृत्वमा ४० जनाको टोली पनि परिचालित छ ।

त्यस्तै ललितपुरमा पनि प्रहरी निरीक्षकको कमाण्डमा सामाखुशीबाट २५ जनाको टोली परिचालित छ । ललितपुरमा प्रहरीको विशेष सुरक्षा गण त्रिपुरेश्वरबाट पनि ३० जना खटएका छन् । भक्तपुरमा सामाखुशीबाट १५ जनाको टोली खटिएको छ ।

विपद उद्दार तथा व्यवस्थापनका लागि सशस्त्र प्रहरी बलको टोली पनि परिचालित छ । सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार, उपत्यकामा २३ वटा ढुंगासहित १ हजार ५१२ जनाको टोली उद्दार कार्यमा परिचालन गरिएको छ ।

त्यसैगरि कोशी प्रदेशमा लगातारको भीषण वर्षासँगै  बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ५ पुगेको छ ।  बाढी र पहिरोबाटो  ९ जना बेपत्ता भएका छन् ।

कोशी  प्रहरी कार्यालयका अनुसार पाँचथरमा ४ र धनकुटामा १ जनाको मृत्यु भएको छ । पाँचथरमा पहिरोमा परी ४ जना बेपत्ता भएका छन् । खोलाले बगाउँदा झापा, मोरङ र इलाममा ५ जना बेपत्ता भएका छन् ।

पाँचथरको फिदिम नगरपालिका–४ चिसापानीमा पहिरोले घर पुरिदा २४ वर्षीया सपना शेर्पा र उनकी ५ वर्षीया छोरी डोल्मा शेर्पाको मृत्यु भएको छ । प्रहरीका अनुसार फिदिम–१२ घर भएका आमा–छोरी चिसापानीमा डेरा बस्दै आएका थिए । पहिरोले घर पनि पुरिएको छ ।

पाँचथरको फिदिम नगरपालिका– १ साँगेबोटेमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । ४ जना बेपत्ता भएका छन् । पहिरोमा परी फिदिम नगरपालिका– १ कात्तिके घर भइ फुरुङ्गा हाइड्रो पावरमा काम गर्ने ५० वर्षीय गोपी विश्वकर्माको मृत्यु भएको छ । फिदिम १ बस्ने ५० वर्षीय कृष्ण दास, ४० वर्षीया कमला दास, ५५ पर्षीय धनकुमार तुम्बापो, २१ वर्षीय सरस्वता तुम्बापो बेपत्ता भएका छन् । पहिरोमा परी दुई जना घाइते छन् ।

प्रहरीका अनुसार मृतक र बेपत्ता फुरुङ्गा हाइड्रो पावर कम्पनीमा काम गर्ने कर्मचारी हुन् । उनीहरु स्थानीय राजकुमार नेम्बाङको घर भाडामा लिएर बस्दै आएका थिए । विहान करिब ५ बजे खसेको पहिरोले घरमा रहेको पशुचौपाय पनि पुरेको छ ।

धनकुटाको पाख्रीबास नगरपालिका– ५ शनिबार बिहानको करिब ३ बजे खसेको पहिरोले घर पुरिदा स्थानीय ५० वर्षीया रामकुमारी तामाङ र ३२ वर्षीया आशा तामाङको मृत्यु भएको हो । उनीहरु आमा छोरी रहेको प्रहरीले बताएको छ ।

बाढीले बगाउँदा झापामा तीनजना बेपत्ता भएका छन् । शुक्रबार साँझ कचनकवल गाउँपालिका–१ का पञ्चु राजवंशीकी १४ वर्षीया छोरी नेहारिका जमुवा खोलामा बेपत्ता भएकी छन् ।

खोला तर्ने क्रममा उनी बेपत्ता भएकी हुन् । कमल गाउँपालिका–१ स्थित किस्ने खोलामा माछा मार्ने क्रममा सोही ठाउँका ३५ वर्षीय टीकाराम चौधरी बेपत्ता भएका छन् ।

गौरीगञ्ज गाउँपालिका–३ र २ को सिमानामा रहेको हुलाकी सडकमा पर्ने किस्ने खोलाको पुलबाट गौरीगञ्ज–२ का ५० वर्षीय केमालाल ताजपुरिया बेपत्ता भएका छन् । उनीहरुको खोजी जारी छ ।

शुक्रबार दिउँसो इलामको माइ नगरपालिका ८ स्थित सेते खोला तर्ने क्रममा स्थानीय ६८ वर्षीय मैतबहादुर लिम्बू बेपत्ता भएका छन् । त्यस्तै मोरङको रतुवामाइ नगरपालिका ७ बस्दै आएका ७२ वर्षीया डुरोदेवी राजवंशी रतुवाखोला तर्ने क्रममा बेपत्ता भएकी छन् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्