नेभिगेशन
विपद घटना

लुम्बिनी प्रदेशका बाढी-पहिरो प्रभावित १ सय ९ जनालाई सुरक्षित स्थानमा सारियो

दाङ  । लुम्बिनी प्रदेशमा आएको बाढी र पहिरोबाट प्रभावित भएका १ सय ९ जनालाई सुरक्षित स्थानमा सारिएको छ । प्रदेशका पश्चिम नवलपरासी, पाल्पा, रुपन्देही, गुल्मी र रोल्पा जिल्लाका बाढी पहिरो प्रभावितहरुलाई सुरक्षित स्थानमा सारिएका छन् ।

नवलपरासी वर्दघाट–२ बासखोलामा ९ जनाको घर बाढीका कारण डुबानमा परी क्षती भएको छ । स्थानीय कोशबहादुर आले, हरीबहादुर राई, कादर दर्लामी, तोमन सिंह दर्लामी, तिलकुमारी बाह्रघरे, बमबहादुर बाह्रघरे, तिलकबहादुर रुचालको घर तथा गोठमा क्षती पुगेको छ। सुस्ता गाउँपालिका–५ बड्काटोलमा बाढी पसेको छ।

नारायणी नदीको पानीको वहाव बढ्दा बाँध समेत फुटेर पानी बस्तीमा छिरेको थियो ।

स्थानीय प्रहरी र समुदायका नागरिकलाई सार्वजनिक भवनमा सारिएको छ । पाल्पा रैनादेवी छहरा– १ का ज्ञानबहादुर कुमालका १२ जनाको परिवारलाई छिमेकीको घरमा सारिएको छ । बगनासकाली–६ का देवनारायण बस्यालको घर पूर्णरुपमा बस्न नमिल्ने भएको हुँदा दुई जना सदस्यलाई सुरक्षित स्थानमा सारिएको छ । तानसेन–५ कैलाशनगर सुकुम्वासी टोलमा पहिरो झर्दा नौं वटा घर जोखिममा परेपछि सुरक्षित स्थानमा सारिएको छ ।

रम्भा–३ ज्ञानिसरा चिर्तौरको घर जोखिममा परेको हुँदा सात जना परिवारका सदस्यलाई छिमेकीको घरमा सारिएको, निस्दी –५ का नरबहादुर खरुको घर जोखिममा परेको हुँदा तीन जना सदस्यलाई सुरक्षित स्थानमा सारिएको, रैनादेवी छहरा–१ मनिकला कुमाल, ओमप्रकाश कुमाल, रीता कुमाल, सिमा कुमाल, मालती नेपालीको घर जोखिममा परेको हुँदा ११ जना सदस्यहरुलाई आफन्तको घरमा सारिएको छ ।

माथागढी–७ निवासी लोकमायाँ चुहानको घर जमिन भासिदा जोखिममा परेपछी सात जना सदस्य पुरानो घरमा बसेको, सोही ठाउँका हिराबहादुर ढेंगाको घर बस्न नमिल्ने भएपछी चार जना सदस्य पुरानो गोठमा बसेका छन् ।

रैनादेवी छहरा–१ का कमला गरम्जाको घर पहिरोले पुरिएको हुँदा तीन जना सदस्यलाई आफन्तको घरमा सारिएको छ । रीब्दीकोट–४ का मिनप्रसादको घर अगाडि पहिरो खस्दा जोखिम बढेपछि चार जना सदस्यलाई सुरक्षित स्थानमा सारिएको छ । पाल्पा तिनाउ –१ का निरज सास्कोटीको घर पहिरोले पुरिएपछि चार जनालाई सुरक्षित स्थानमा सारिएको छ।

त्यस्तै गुल्मी छत्रकोट–५ का कृष्ण विकको घरमा क्षति पुगेकाले तीन जनालाई सुरक्षित स्थानमा सारिएको छ । रोल्पा त्रिवेणी–६ धरमखोलाका केशरबहादुर वलीको बाख्रा गोठ भत्किएको छ ।

त्यस्तै माडी गाउँपालिका–४ बुढागाउँका गनबहादुर घर्तीको कुखुरा फारममा क्षति पुगेको क्षतिको बिवरण संकलन गरिरहेका लुम्बिनी आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी गंगाधर पाण्डेले जानकारी दिए ।

लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले विपद् प्रतिकार्य योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न तीन वटै सुरक्षा निकाय, रेडक्रस, स्वंयमसेवक तथा आम सर्वसाधारण नागरिकहरुमा अपिल गरेका छन् ।

प्रदेश सरकारको सहजीकरणमा सुरक्षा निकाय र स्थानीय सरकारले विपदमा परेकाहरुलाई राहत, पुर्नस्थापनाको काम पनि अघि बढाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्