नेभिगेशन
विपद घटना

तीन दिनको भारी वर्षाको बाढी-पहिरोमा १४९ जनाको मृत्यु, ५९ अझै बेपत्ता: सशस्त्र प्रहरी

काठमाडौं । देशभरका धेरैजसो स्थानमा बिहीबार, शुक्रबार र शनिबार परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १ सय ४९ पुगेको छ ।

सशस्त्र प्रहरी बल नेपालले  दिएको आइतबार साँझसम्ममा विवरणअनुसार, ५९ जना अझै बेपत्ता छन्। बाढीपहिरोबाट उद्धार गरिएका ६० जना घाइते भएका छन् ।

३ हजार ६ सय २६ जनाको उद्धार गरिएको छ। काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुंगानजिकै रहेको झ्याप्लेखोलामा मात्रै ३५ वटा शव गाडीसँगै पुरिएको अवस्थामा निकालिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं,ललितपुर र भक्तपुरमा मात्रै ७४ जनाको मृत्यु हुँदा २० जना बेपत्ता भएका छन् । त्यसैगरी १० जना घाइते हुँदा १ हजार ९ सय २ जनाको सकुशल उद्दार गरिएको हो भने उपत्यकाका ३ सय ३८ स्थानमा भौतिक क्षति पुगेको छ। उपत्यकामा मात्रै सशस्त्र प्रहरीका ११ सय जनशक्ति परिचालन गरिएको थियो।

यसैगरी कोशी प्रदेशको पाँचथर, ओखलढुङ्गा, धनकुटा, झापा, मोरङ, सोलुखुम्बु, सुनसरी, खोटाङ, ईलाम, उदयपुर र भोजपुरमा गरी १ हजार २९ जनाको सकुशल उद्धार गरिएको छ भने १७ जनाको मृत्यु हुँदा ८ जना वेपत्ता, ७ जना घाईते र २ सय ४७ स्थानमा भौतिक क्षति पुगेको  सशस्त्र प्रहरीले जानकारी दिएको छ।

त्यसैगरी मधेश प्रदेशको रौतहट, महोत्तरी र सर्लाही जिल्लामा गरी ६८ जनाको सकुशल उद्धार गरिएको छ भने २ जनाको मृत्यु, १ जना वेपत्ता र ५५ स्थानहरुमा भौतिक क्षति भएको  छ।

काभ्रे, सिन्धुली, धादिङ, सिन्धुपाल्चोक, मकवानपुर, दोलखा, चितवन, नुवाकोट, रसुवा र रामेछाप जिल्लामा गरी ६ सय २७ जनाको सकुशल उद्धार गरिएको छ भने ३४ स्थानमा भौतिक क्षति, ५६ जनाको मृत्यु हुँदा ४३ जना घाइते र २८ जना वेपत्ता भएका छन् । यसैगरी लुम्बिनी प्रदेशको रुपन्देहीमा बाढिमा परी २ जना वेपत्ता भएका छन् । 

बिहीबारदेखि सुरु भएको अविरल बर्षाको कारण नेपालका विभिन्न जिल्लाहरुमा भएको घटनाहरुमा खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बलका  ७ हजार ४ सय ३३ जना जनशक्ति परिचालित भएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्