काठमाडौं । सशस्त्र प्रहरीले रुपन्देही र पश्चिम नवलपरासीबाट ९४ लाख बढीको अवैध सामाग्री बरामद गरेको छ।
रुपन्देहीस्थित सशस्त्र प्रहरीले शुद्धोधन गाउँपालिका–३ बेतहानीबाट असोज १३ गते बेलुका २४ लाख ८९ हजार १ सय रुपैयाँ बराबरको चोरीपैठारीका लत्ताकपडा, जुत्ता, मोबाइलको पार्टस् र उक्त सामान ल्याउन प्रयोग भएको करीब ७ लाख बराबरको एउटा गाडी नियन्त्रणमा लिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।
सशस्त्र प्रहरीका अनुसार अवैध सामाग्री तस्करीमा प्रयोग भएको लु १ च ६३२४ नम्बरको फोर्स पिकअप गाडी नियन्त्रणमा लिइएको हो।
त्यसैगरी पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ चिसापानीबाट सशस्त्र प्रहरीले असोज १३ गते बेलुका नै करिब ३२ लाख १३ हजार ३ सय रुपैयाँ बराबरको अवैध सामानसहित एउटा ट्रक नियन्त्रणमा लिएको हो।
भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ८ ख १४७६ नम्बरको ट्रकमा राखेर अवैध रुपले ल्याउँदै गरेको ६ सय बोरा चिनी, मोबाइल कभर, टेम्पर ग्लास तथा विभिन्न किसिमको भाडावर्तनसहितको करिब ३० लाख मूल्य बराबरको अर्को ट्रक पश्चिम नवलपरासी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको प्रधान कार्यालयले जानकारी दिएको छ।
सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार चिनीको विल बनाएर अवैध रुपमा ल्याइएको मोवाइलको टेम्पर ग्लास १५ हजार २ सय २० थान, विभिन्न किसिमका मोबाइलका कभर ९ सय ५० थान, काँसको आरती दानी २ सय ६१ थान र सुराही १३ थान अवैध सामाग्री बरामद भएको हो ।
बरामद गरिएका सबै अवैध सामाग्री तथा ट्रकलाई आबश्यक कारबाहीका लागि रुपन्देहीस्थित भैरहवा भन्सार नवलपरासीस्थित महेशपुर भन्सारमा बुझाइएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।