नेभिगेशन
सुरक्षा अपडेट

मेयर विष्ट याक्सनमा आएपछि आफ्नै कर्मचारी लक्ष्मीले पाइन् न्याय, नगर प्रहरीले हटायो काँडेतार

नेपालगञ्ज । नेपालगञ्ज–१८ कारकाँदो निवासी लक्ष्मी शर्माको घर अगाडि लगाइएको काँडेतारे हटेको छ । चलनचल्तीको बाटो अवरुद्ध गरेर जग्गा व्यवसायी कौशल नेपालले शर्माको घर जाने बाटो अवरुद्ध गरेर दुःख दिएका थिए । स्थलगत प्रतिवेदन अनुसार तारबार गरिएको ठाउँमा चलनचल्तीको बाटो भएको प्रमाणित भएपछि नेपालगञ्ज उप–महानगरपालिका प्रमुख प्रशान्त विष्टले उक्त बाटोमा गरिएको अवरोध हटाउन निर्देशन दिएका थिए । कानुनमा भएको व्यवस्था अनुसार अवरुद्ध बाटो हटाइएको नेपालगञ्ज उप–महानगरपालिकाले जनाएको छ ।

प्रमुख विष्टको निर्देशनपछि नगर प्रहरीको टिम गएर बाटोमा लगाएको काँडे तारबारलाई हटाएका थिए । कानुनी रुपमा आफूले न्याय पाएको पीडित शर्माले बताइन् । उनले भनिन्, ‘घरको बाटो करीब एक महिनादेखि बन्द भएको थियो । मेरो घर परिवारलाई दैनिक आवातजावतमा समस्या परेको थियो । मानसिकरुपमा हामीलाई धेरै समस्याको सामना गर्नुपर्यो ।’ न्याय पाउनको लागि आफूले नेपालगञ्ज उप–महानगरपालिकादेखि लिएर अन्य सम्बन्धित निकायमा पनि समेत उजुरी दिएको शर्माले बताइन् । तर, बुधबार नगर प्रहरीले अवरुद्ध भएको बाटो सुचारु गरेपछि आफूले न्यायको अनुभूति गरेको शर्माले बताइन्।

नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १८ निवासी शर्माको घर अगाडिको बाटो करीब १ महिना अघिदेखि अवरुद्ध थियो । शर्माको घर जाने बाटो अवरुद्ध गरेर व्यवसायी नेपालले बार्गेनिङ गरेका थिए । जग्गा व्यवसायी नेपाल वेष्टर्न रियल स्टेटका अध्यक्ष हुन्। प्लटिङ गर्ने क्रममा चलनचल्तीको लागि बाटो देखाए पनि नेपालले त्यसलाई सार्वजनिक भने गर्ने गरेका छैनन् । कानुनी हिसाबले नेपालगञ्ज उप–महानगरपालिकाकामा बाटोको लागि कम्तिमा ६ मिटर जमिन हुनुपर्ने प्रावधान छ । प्लटिङ गरेर जमिन बिक्री गर्दा बाटोको लागि छुट्याएको जमिन भने नेपालले आफ्नै नाममा राखेर पछि बार्गेनिङ गर्ने गरेका थिए ।

चलचल्तीको बाटो भए पनि बाटो अगाडि बढाउन शर्माले आफ्नो जमिन नदिएका कारण आफूले बाटो अवरुद्ध गरेको नेपालले बताएका थिए । कित्ता नम्बर १३१३ र १३१४ मा लक्ष्मी शर्माको घर र आँगन छ । त्यही घरको अगाडिको जमिन बाटोको रुपमा दिनुपर्छ भन्दै नेपालले आफूहरुलाई धम्काउने, तर्साउने गरेको लक्ष्मीले आरोप लगाउँदै आएकी थिइन् ।

प्लटिङ गर्ने क्रममा चार मिटरको बाटो भने नेपालले आफ्नो नाममा दर्ता गरेका थिए । प्लटिङ गरेको क्षेत्रमा चार मिटरको बाटो छ । कित्ता नम्बर ११७७ र १२६१ नम्बर बाटोको लागि छुट्याइएको छ । त्यही बाटो अवरुद्ध गरिएको थियो । विवादलाई समाधान गर्नको लागि नेपालगञ्ज उप–महानगरपालिकामा दुबै पक्षबीच छलफल पनि भएको थियो । तर, सहमति हुन नसकेपछि प्रमुख विष्टले कानुन प्रक्रिया अनुसार निकास दिन प्रक्रिया अगाडि बढाएका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्