काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले चाडपर्वलाई लक्षित गर्दै देशभरका विभिन्न जिल्लामा पर्यटक सहायता कक्ष स्थापना गर्न लागेको छ।
जसमा सशस्त्र प्रहरीले लुम्बिनी प्रदेशका बाँकेको जमुनाह, कपिलवस्तुको कृष्णनगर र रुपन्देहीको बेलहियामा पर्यटक सहायता कक्ष स्थापना गर्न लागेको जनाएको छ।
त्यसैगरी इलामको पशुपतिनगर फाटक, झापाको काँकडभिट्टा, धनुषाको जटही, पर्साको वीरगन्ज र कञ्चनपुरको गड्डाचौकीमा पर्यटक सहायता कक्ष समेत स्थापना गर्ने लक्ष्य रहेको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कुमार न्यौपानेले जानकारी दिए।
यस्तै सशस्त्र प्रहरीले १ सय १६ स्थानमा यात्रु सहायता कक्ष (हेल्प डेस्क) स्थापना गर्ने भएको छ ।
सशस्त्र प्रहरीले ६६ वटा स्थापना गरिसकेको र ५० वटा स्थापना हुने क्रममा रहेको जनाएको छ ।दसैँ, तिहार तथा छठपर्व लगायतका चाडवाडका वेला सीमा नाकाबाट गन्तव्यतर्फ जाने आम नागरिकलाई सहज, सुरक्षित र सम्मानजनक ढंगबाट यात्रा पूरा गर्ने व्यवस्था मिलाउन तथा आपतविपद्मा परेका नागरिकको उद्धार कार्यमा सहयोग पुर्याउने अभिप्रायले दुवै देशका सुरक्षाकर्मीसँगको समन्वय र सहकार्यमा कक्ष राखिएको डीआईजी न्यौपानेले बताए ।
चाडपर्वको बेला सीमा नाकाबाट आवतजावत गर्ने नागरिकहरूको सुरक्षा, सीमा क्षेत्रमा हुने अवैध गतिविधि, चोरी डकैती, लुटपाट जस्ता घटनाहरू हुन नदिन, अप्ठ्यारोमा परेका नागरिकको सहयोग गर्न हेल्प डेस्क राखिएको उनले बताए ।