नेभिगेशन
नेपाल प्रहरी

बिवाहको बहानामा चीन लगेर मानव तस्करी गरेको आरोपमा एक महिला पक्राउ

काठमाडौं । बिवाहको बाहनामा चीनमा मानव तस्करी तथा बेचबिखन गरेको आरोपमा प्रहरीले एक जना  महिलालाई पक्राउ गरेको छ। सो आरोपमा प्रहरीले उदयपुरको त्रियुगा नगरपालिका–१ जोगिदह घर भएकी ३१ वर्षीया सुन्दरी राईलाई पक्राउ गरेको हो। उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

उनले चिनियाँ केटासँग विवाह गरेर चीन आउन भन्दै पीडित महिलालाई सामाजिक सञ्जालमार्फत प्रस्ताव गरेकी थिइन् । विश्वास दिलाउन आफू समेत चिनियाँ केटासँग विवाह गरेर चीन आएको बताएकी थिइन् ।

त्यसपछि पीडित महिलालाई ठमेलमा उनले चिनियाँ केटासँग समेत भेट गराएको पाइएको ब्यूरोका प्रवक्ता एसपी गौतम मिश्रले जानकारी दिए । महिलालाई झुक्याएर १० फागुन २०८० मा चीन पुर्‍याएको खुल्न उनले बताए ।

चीन पुगेपछि ती महिलाले आफू १ लाख ५० हजारमा बिक्री भएको थाहा पाएकी थिइन् । चिनियाँ नागरिकले उनलाई घरमै बन्धक बनाएर शारीरिक र मानसिक यातना दिँदै यौन शोषण समेत गरेको पीडितको भनाइ छ ।

त्यसपछि चीनस्थित नेपाली दूतावासको समन्वयमा उनी ९ असारमा नेपाल फर्केर ब्यूरोमा जाहेरी दिएकी थिइन्।पीडितको जाहेरीपछि ११ असारमा सुन्दरी राईलाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अनुसन्धान गर्न व्यूरोले ७ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको छ ।

यस घटनामा चिनियाँ नागरिक समेत संलग्न रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्