नेभिगेशन
अन्तर्राष्ट्रिय सुरक्षा

शान्ति सेनामाथि भएको इजरायली आक्रमणको ३४ देशले गरे विरोध

काठमाडौं । इजरायलले लेबनानमा रहेको शान्ति सेना कार्यालयमामा गरेको आक्रमणको नेपालस्थित ३४ राष्ट्रले विरोध जनाएका छन्।

परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै शान्ति सैनिकहरूमाथि भएको आक्रमणको निन्दा गरेको हो। यसमा नेपालसहित ३४ राष्ट्रले समेत हस्ताक्षर गरेका छन्।

नेपालसँगै अर्मेनिया, अष्ट्रिया, बंगलादेश, ब्राजिल, कम्बोडिया, चीन, साइप्रस, एल-साल्भाडोर, इस्टोनिया, फिजी, फिनल्यान्ड, फ्रान्स, घाना, ग्वाटेमाला, हंगेरी, इन्डोनेशिया, आयरल्यान्ड, इटाली, काजकिस्तान, कोरिया, लात्भिया, मलेसिया, माल्टा, मंगोलिया, नेदरल्यान्ड्स, पोल्यान्ड, कतार, सिएरा लियोन, स्पेन, श्रीलंका, टर्की, बेलायत, उत्तरी आयरल्यान्ड र तान्जनियाले घटनाको निन्दा गरेको हो।

यस्तै यस द्वन्द्धमा सामेल रहेका सबै राष्ट्रलाई शान्ति सैनिकको सुरक्षाको सुनिश्चितता गर्न पनि अनुरोध गरेको छ। ‘यस्ता गतिविधि यथासिघ्र रोकिनुपर्छ र अनुसन्धान गरिनुपर्छ,’ परराष्ट्रमन्त्रालयले भनेको छ। यी सबै राष्ट्रबाट शान्ति सैनिक लेबनानमा खटिएका छन्।

विज्ञप्तिमा सबै राष्ट्रले दक्षिणी लेबनान र मिडल इस्टमा स्थिरता र शान्ति ल्याउनु मुख्य उद्देश्य रहेको युएनआईएफआइएल मिशन र यसको गतिविधिलाई समर्थन रहेको उल्लेख छ। इजरायली सेनाले आइतबार लेबनानमा रहेको युएनआईएफआइएलको बेसमा  आक्रमण गरेको थियो।

इजराइली सेनाले बेसमा रहेको मुख्य गेट भत्काएको र कम्तिमा १५ जना घाइते भएको जनाइएको छ। घाइते सबै शान्ति सैनिकको उपचार भइरहेको युएनआईएफआइएलले जनाएको छ। यस्तो घटना पुनः नदोहोर्‍याउन इजरायललाई आग्रह गरिएको हो।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्