पोखरा । सहकारी ठगीमा पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले म्याद थपका लागि आज दोस्रो पटक कास्की जिल्ला अदालतमा पेस गर्दैछ ।
कास्की प्रहरीले अनुसन्धानको क्रममा प्रमाण जुटाउने, कागजात मगाउने कार्य भइरहेकाले बयान नसकिएको हो । पहिलो पटक थपिएको ६ दिनको म्याद सकिए पनि बयान नसकिएपछि प्रहरीले आज म्याद थपका लागि अदालतमा पेस गर्न लागेको हो ।
उनी कात्तिक २ गते शुक्रबार साँझ काठमाडौँस्थित रास्वपाकै पार्टी कार्यालयबाट पक्राउ परेका थिए । उनलाई शनिबार बिहान पोखरा ल्याइएको थियो ।
उनलाई आइतबार अदालत पेस गर्दा ६ दिन म्याद थप भएको थियो । मंगलबार र बुधबार उनले सरकारी वकीलसमक्ष बयान दिएका थिए ।
उनको बयान अझै नसकिएपछि आज थप केही दिन म्याद थप हुने सम्भावना छ । कास्कीमा उनीमाथि सूर्यदर्शन सहकारीको रकम अपचलनमा अनुसन्धान भइरहेको छ ।
उनको नाम अन्य केही सहकारीसँग पनि जोडिएकाले बयानका लागि रुपन्देही र अन्य जिल्ला प्रहरी कार्यालयमा पनि लगिने सम्भावना छ ।
एउटै प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशी पनि कास्की प्रहरी हिरासतमै छन् । उनी असोज ६ गते काठमाडौँबाट पक्राउ परेका थिए ।
लामिछाने पक्राउ परेकै दिन उनीमाथि २० दिन म्याद थप भएको थियो । यही बीचमा उनलाई बयानका लागि रुपन्देही लगिएकामा बुधबार कास्कीमै फर्काइएको छ ।