पोखरा । प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा छापा मार्दै साढे ८ लाख रुपैयाँ बढीसहित एक दर्जन जुवाडेलाई पक्राउ गरेको छ।
मुस्ताङ प्रहरीले जिल्लास्थित मार्फाको एक होटेलबाट पोखराका दुई जनासहित जुवाखालबाट ८ लाख ५२ हजार रुपैयाँ नगदसहित १२ जनालाई पक्राउ गरेको जनाएको छ।
होटलभित्र जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा गएराति प्रहरी निरीक्षक गणेश सुवेदीको कमाण्डमा खटिएको टोलीले मार्फास्थित होटल माउन्ट भिल्ला एण्ड रेष्टुरेन्टबाट उनीहरुलाई पक्राउ गरेको हो ।
उक्त होटल फिरोज लालचनले सञ्चालन गरेका हुन् । पक्राउ पर्नेमा महानगरपालिका-९ का ५९ वर्षीय आइत ज्वारचन र ६० वर्षीय कमल हिराचन छन् ।
यसैगरी, मुस्ताङ घरपझोङ मार्फाका ५० वर्षीय सुरज लालचन, ५६ वर्षीय राजु लालचन, ५० वर्षीय जेम्स हिराचन, ५३ वर्षीय गुञ्ज हिराचन, ६० वर्षीय दलबहादुर हिराचन, ५० वर्षीय विश्व लालचन, ३८ वर्षीय समिर ज्वारचन, ५० वर्षीय कविन ज्वारचन, ६५ वर्षीय यामप्रसाद मगर र ४० वर्षीय सन्तोष लालचन छन् ।
जुवाखालबाट पक्राउ परेकाहरुविरुद्ध आबश्यक छानविनसहित अनुसन्धान भइरहेको मुस्ताङ प्रहरीले जानकारी दिएको छ।