नेभिगेशन
नेपाल प्रहरी

बयानका लागि रवि लामिछानेलाई रुपन्देही लगिँदै

पोखरा । सहकारी ठगी प्रकरण मुद्दामा कास्की प्रहरीको हिरासतमा रहेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज रुपन्देही लगिएको छ । लामिछानेलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्म विमानमा लगिने बताइएको छ ।

उनलाई विमानस्थल पुर्याइएको छ । बिहान ७ः४५ को उडानमार्फत लामिछानेलाई रुपन्देही लगिने भनिए पनि केही ढिलाई भएको छ । साथै उनलाई सरकारी वकिलको कार्यालयमा बयान सकेर आजै कास्की फर्काउने तयारी छ । यसअघि पूर्वडीआइजी छविलाल जोशीसँग दुई दिन लगाएर बयान लिइएको थियो ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोपमा रुपन्देही जिल्ला अदालतले लामिछानेसहित १२ जनाबिरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

सो सहकारीको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको बताइएको छ । जसमा एक करोड ९६ लाख लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

त्यसपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कास्की प्रहरीलाई पत्र पठाएर लामिछानेलाई उपस्थित गराइदिन सहयोग मागेको थियो । सोही बमोजिम लामिछानेलाई रुपन्देही पठाउन लागिएको कास्की प्रहरीले जनाएको छ ।

लामिछाने सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा कात्तिक २ गते साँझ काठमाडौँबाट पक्राउ परेका थिए ।

उनलाई कात्तिक ३ गते बिहान कास्की ल्याइएको हो । उनी सोही दिनदेखि कास्की प्रहरीको हिरासतमा छन् । उनलाई पछिल्लो पटक जिल्ला अदालत कास्कीले १३ दिन म्याद थपिदिएको छ।

लाछिानेसँगै पूर्वडीआइजी जोशी, लिला पछाई र व्यवसायी रामबहादुर खनाल पनि कास्की प्रहरी हिरासतमै छन् ।

यसैबीच सभापति लामिछानेलाई रुपन्देही लगिने भएपछि रास्वपाले मंगलबार बुटवलमा प्रदर्शन गर्ने भएको छ । सबै कार्यकर्तालाई बिहान ११ बजे बुटवल आइसक्न निर्देशन दिइएको बताइएको छ । रास्वपाको आन्दोलनलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था मजबुत बनाइने बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्