नेभिगेशन
अदालत

पूर्व गृहमन्त्री रवि लामिछानेसँग रुपन्देहीमा तेस्रो दिन पनि बयान

रुपन्देही  । सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई बहिरी कडा सुरक्षा घेराबीच सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान लिइएको छ । 

मंगलबार पहिलो दिन प्रारम्भिक बयान भएको र दोस्रो दिन बयानलाई निरन्तरता दिनका लागि बिहान सवा १० बजेदेखि बेलुकी सवा ७ बजेसम्म बयान लिइएको सरकारी वकिल कार्यालय रुपन्देहीले जानकारी दिएको छ । 

‘करिब ९ घण्टा बयान लिइएको प्रमुख न्यायधिवक्ता प्रेमराज पौडेलले बताए । ‘बयान लिने कामको अन्तिम रुप दिँदै रुजु गर्ने र रोलक्रम गर्न बाँकी रहेको छ । बयान सकिएको छैन अन्तिम अन्तिमतिर छौँ बिहीबार १० बजेदेखि पुनः बाँकी बयान हुन्छ’ पौडेलले भने ।

नम्बरिङ गर्न बाँकी रहेकाले कति वटा प्रश्न गरिएको भन्नेबारे यकिन भएको छैन । बयान कति समय लाग्छ भन्न सकिने अवस्था पनि नरहेको उनले भने । 

लामिछानेलाई सरकारी वकिलको कार्यालय लैजाने र ल्याउने क्रममा प्रहरीको जंजिर नै बनाई नदेखिने गरि कडा सुरक्षा गरिएको थियो । सरकारी वकिलको कार्यालयमा ठूलो संख्यामा प्रहरी अधिकृतहरु नै खटिएर प्रहरीको घेरामा नै बयान कक्षसम्म पुर्याइँदै छ । 

बयानपछि उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । मंगलबार बयानपछि बाहिर निस्कने क्रममा सरकारी वकिलको कार्यालय परिसरमै ‘खोरमा बाघलाई थुन्दैमा स्याल हुँदैन’ भन्ने प्रतिक्रिया दिएपछिमाथिबाटै आदेश छ भन्दै रुपन्देही प्रहरीले घेरा हाली उनलाई आउ जाउ गरेको हो । 

पोखरा र रुपन्देहीमा एकै प्रकृतिको कसूर भए पनि जिल्ला र संस्था फरक–फरक भएकाले हरेक जिल्लामा लामिछानेविरुद्ध छुट्टाछुट्टै मुद्दा दर्ता हुने रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले बताए ।

 ‘जति जिल्लामा उजुरी दर्ता हुन्छ, त्यहींको कागजात र प्रमाणअनुसार नै प्रक्रिया अघि बढ्ने हो, एकै प्रकृतिको कसूरमा एकै चरणमा अनुसन्धान भए पनि गाभ्न मिल्दैन,’ उनले भने ।

स्थानअनुसार प्रमाण फरक–फरक हुन सक्ने भएकाले मुद्दा गाभ्न नमिल्ने उनको भनाइ छ । अहिलेसम्म पक्राउ अनुमति लिइएका र अनुसन्धान गर्नुपर्ने देखिएका अन्य व्यक्तिहरूविरुद्ध पनि रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी रहेको राठौरले जानकारी दिए ।

जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल, इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डित, जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकारीहरु लगायतको उपस्थितिमा भएको छ। पहिलो दिन केही प्रशनहरु सोधिएको थियो । यस अघि सोही कसुरमा छविलाल जोशीसँग पनि वयान लिएको थियो । छविसँग ५६ सवाल जवाफ भएको थियो । 

जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल मुलकुी फौजदारी कार्याव्यवस्थाको दफा १६ मा अनुसन्धान अधिकारीले सरकारी वकिल समक्ष वयान लिने व्यवस्था अनुरुप वयान लिनका लागि यहाँ अनुसन्धान अधिकारीले उपस्थित गराएको बताए ।  रविको विरुद्धमा परेको सहकारी ठगी सम्बन्धी कसुरमा पहिलो दिन ३ घण्टा ३५ मिनेट वयान लिएको थियो भने दोस्रो दिन ९ घण्टा वयान भयो  ।

पोखराको सूर्य दर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकम समेत हिनामिनामा संलग्न रहेको आरोप छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई सूर्यदर्शन सहकारीमा अनुसन्धान सकिएकाले सुप्रिमका लागि रवि लामिछानेलाई मंगलबार रुपन्देही ल्याइएको हो ।

रुपन्देही जिल्ला अदालतले रवि लामिछाने र छविलाल जोशीसहित १२ जनाविरुद्ध यसअघि नै पक्राउ पूर्जी जारी गरिसकेको छ । प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गरिरहेको छ । बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

रुपन्देही ल्याएसँगै रास्वपा र सहकारी पीडित दुवै पक्षले प्रदर्शनको गरिरहेका छन् । सुप्रिम सहकारी पीडितले उनलाई बयान लिने सरकारी वकिलको कार्यालय तथा जिल्ला अदालत परिसरमा वरिपरि प्रशासन निषेध गरी बयान जारी राखेकोले विरोध प्रदर्शन बाहिर भइरहेको छ । बुधबारको प्रदर्शनमा समर्थक र प्रहरी बीच सरकारी वकिलको कार्यालय अगाडिको व्यारिगेडमा ठेलमठेल भएको थियो ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्