नेभिगेशन
अदालत

रुपन्देहीबाट बयान गराएर रवि लामिछानेलाई पोखरा लगियो

पोखरा । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देहीबाट पोखरा ल्याइएको छ । उनलाई आज दिउँसो १ बजेर ८ मिनेटमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलभित्र लगिएको थियो ।

दिउँसो १ः३० बजे यति एयरको विमानबाट उनलाई पोखरा ल्याइएको कास्की प्रहरीले जनाएको छ ।

बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा पोखराबाट मंगलबार ल्याएर बिहीबारसम्म गरी २३ घण्टा लगाएर ७४ प्रश्नको सवाल जवाफ भएको थियो ।पोखराको सूर्य दर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकम समेत हिनामिनामा संलग्न रहेको आरोप छ ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख गोर्खा मिडिया नेटवर्कमा अवैध किसिमले लागिएको संसदीय छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । 

प्रतिवेदनअनुसार, बुटवलस्थित सहकारीबाट एक करोड ९६ लाख लामिछानेको नाममा, २ करोड ५० लाख छविलाल बञ्जाडे जोशीको नाममा र साढे १२ करोड अन्य व्यक्तिहरूको नाममा गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ ।

लामिछानेलाई जिल्ला अदालत कास्कीले आइतबार थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

कार्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई पहिलोपटक कार्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रोपटक ७ र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो ।

लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।

प्रहरीले सहकारी ठगी मुद्धामा बढीमा २५ दिन, संगठित अपराधमा बढीमा ६० दिन र सम्पत्ति शुद्धीकरण मुद्धामा बढीमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानूनी व्यवस्था रहेको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्