काठमाडौँ । आजदेखि काठमाडौंमा सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) र भारतस्थित सशस्त्र सीमा बल (एसएसबी) बीचको समन्वयलाई थप प्रभावकारी बनाउन ‘एपीएफ–एसएसबी आठौँ समन्वयात्मक बैठक’ हुँदैछ ।
सशस्त्र प्रहरी बल मुख्यालय हल्चोकमा आइतबारसम्म चल्ने बैठकमा सीमा अपराध न्यूनीकरण र रोकथाम, अवैध क्रियाकलाप निगरानी र रोकथाम, सूचना आदानप्रदान तथा संयुक्त रुपमा सीमास्तम्भ रेखदेखलगायत विषयमा छलफल हुने सशस्त्र प्रहरी बलले जानकारी दिएको छ।
बैठकमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने, सीमापार अपराध नियन्त्रण गरी सीमा सुरक्षालाई बलियो बनाउन दुई निकायबीच निरन्तर समन्वय र सहकार्य तथा सूचना आदानप्रदान गर्ने बारेमा समेत छलफल हुनेछ ।
बैठकमा सशस्त्र प्रहरी बलका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र भारतको सशस्त्र सीमा बलका तर्फबाट महानिर्देशक अमृतमोहन प्रसादले प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । बैठकमा सहभागी हुन सशस्त्र सीमा बलका महानिर्देशकसहितको प्रतिनिधिमण्डल शुक्रबार नै काठमाडौँ आइसाईको को छ ।
समन्वयात्मक बैठक प्रत्येक वर्ष आयोजना हुँदै आएको छ । यसअघि सो बैठक भारतमा भएको थियो । छैटौँ समन्वयात्मक बैठक २०७९ असोजमा काठमाडौँमा भएको थियो । कोभिड–१९ का समयमा भने समन्वयात्मक बैठक नियमित हुन सकेका थिएनन् ।
सीमा सुरक्षामा खटिइएका दुई सङ्गठनबीच महानिर्देशक–महानिरीक्षक, बानीपति, गणपति तथा बोर्डर आउट पोस्ट स्तरमा पनि नियमित छलफल हुँदै आएका छन् ।