नेभिगेशन
विपद घटना

कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरो,सयौं यात्रु अलपत्र

सुर्खेत । भीषण वर्षाका कारण गएको पहिरोमा कर्णाली राजमार्गका अधिकांश स्थानहरुमा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको छ। गएरातिको वर्षाले  कर्णाली राजमार्ग अन्तर्गत दैलेख र कालिकोटको सीमानामा पर्ने दहीखोला र कालिखोला बीचमा गएको पहिरोले सडक अवरुद्ध भएको हो ।

दैलेख–कालिकोटखण्ड अवरुद्ध हुँदा कर्णाली राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधन शुक्रबार बिहानैदेखि ठप्प भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । दहीखोला र कालिखोलाको बीचमा बाहेक दैलेख खण्डकै पादुका र साँगेतडाको बीचमा ५ ठाउँमा सडक अवरुद्ध भएको दैलेखका प्रहरी प्रमुख डीएसपी सुनिल न्यौपानेले जानकारी दिए ।

उनका अनुसार शुक्रबार बिहान ६ बजेमात्रै राजमार्ग अवरुद्ध भएको प्रहरीलाई खबर आएको थियो । राजमार्ग अवरुद्ध भएपनि दैलेख खण्डमा जनपद र सशस्त्र प्रहरी बाटो खुलाउन खटिएको छ ।

दैलेखको राकम बजारबाट जेसीबी लिएर समेत सडक खुलाउने काम भइरहेको डीएसपी न्यौपानेले जानकारी दिए । ‘दहीखोला र कालिखोलाबाहेक अन्य पाँच ठाउँमा सुख्खा पहिरो गएको छ । अहिले जेसिबी लिएर बाटो खुलाउने काम भइरहेको छ । अबको दुई÷तीन घण्टाभित्र राजमार्ग सञ्चालनमा आउँछ,’ उनले भने ।

राजमार्ग अवरुद्ध हुँदा सुर्खेतबाट जुम्ला र कालिकोटका लागि हिँडेका यात्रुहरू अलपत्र परेका छन् । बाटो खुलाउने प्रयास जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्