नेभिगेशन
सशस्त्र प्रहरी

सकियो ८ औं एपीएफ-एसएसबीको समन्वयात्मक बैठक,गरियो विभिन्न विषयमा कडाइ गर्ने निर्णय

काठमाडौं  ।  सशस्त्र प्रहरी (एपीएफ) र  भारतीय सशस्त्र सीमा बल (एसएसबी) बिच ८औं  समन्वयात्मक बैठक सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा मंसिर १ गतेदेखि सुरु भएको समन्वयात्मक बैठकमा सीमामा हुने अवैध क्रियाकलाप रोकथाम तथा नियन्त्रण, लागुऔषधको ओसारपसार नियन्त्रण, तस्करी नियन्त्रण, सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन नियमित संयुक्त सीमा गस्ती, सीमा स्तम्भहरुको रेखदेख तथा संरक्षण, सूचना आदान प्रदानलगायत दुई निकायबिच निरन्तर समन्वय तथा सहकार्य गर्ने सम्बन्धमा छलफल भएको छ ।

समन्वयात्मक बैठकमा सशस्त्र प्रहरी बल नेपालको तर्फबाट सशस्त्र प्रहरीका आईजीपी राजु अर्याल र एसएसबीको तर्फबाट महानिर्देशक अमृतमोहन प्रसादले प्रतिनिधित्व गरेका थिए । एसएसबीको तर्फबाट ६ जनाको प्रतिनिधिमण्डल बैठकमा सहभागी रहेका थिए।

यसअघि सातौँ समन्वयात्मक बैठक भारतमा सम्पन्न भएको थियो । हरेक वर्ष आयोजना हुँदै आएको बैठकमा सशस्त्र प्रहरी बल नेपालका आईजीपी र भारतको सशस्त्र सीमा बलका प्रमुखबिच सीमा सुरक्षाबारे छलफल हुने गरेको छ ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्