काठमाडौं । घटना १ : घरेलु कामदारका रुपमा कुवेत पुगेकी रुपन्देहीकी २२ वर्षीय बिना खत्री दिदी रेनुकासँग फोनमा रुँदै भन्थिन्, ‘दिदी मलाई यहाँबाट छिटो उद्धार गर ।’
०७५ सालमा भिजिट भिसामा घरेलु कामदारका रुपमा दुबई हुँदै कुवेत पुगेकी बिना आफूलाई नेपाल फर्काइदिन परिवारसँग बिलौना गरिरहन्थिन् । ‘एजेन्टले घरको काममा दुख हुँदैन, राम्रो कमाइ हुन्छ भनेका थिए’, दिदी रेनुकाले भनिन्, ‘त्यही आशमा घरमा डेढ वर्ष र तीन वर्षका दुई साना बच्चा छोडेर कुवेत गएकी थिई ।’
कुबेतमा बिना अरबी अमीरको घरमा घरेलु काम गर्थिन्। रेनुकाका अनुसार सुरुसुरुमा साहुले राम्रै व्यवहार गरेको बैनीले खबर पठाउँथिन् । पछिपछि आफूमाथि कुटपीट नै हुन थालेपछि भने बिना अत्तालिएकी थिइन् ।
बिना खत्री
‘सुरुमा राम्रै व्यवहार गरेको अरबीले पछि त बन्धकजस्तै बनाएर राखेको थियो’, रेनुकाले भने, ‘फोन पनि खोसिदिएर घरमा पनि सम्पर्क गर्न दिँदैनथ्यो । कहिलेकाहीँमात्र आफ्नै फोनबाट सम्पर्क गर्न दिन्थ्यो ।’
आफूमाथि कुटपीट हुनेक्रम बढेपछि बिनाले घर फर्किन प्रयास नगरेकी होइनन्, सफल भइनन् । ‘श्रीमान् मर्दा पनि घर आउन दिएन । बच्चा बिरामी छ भनेर अनेक बाहना बनाउदा पनि मानेन’, उनले भने ।
दिदी रेनुका अनुसार बिनासँग उनको ०८० असारमा अन्तिम पटक कुरा भएको थियो । त्यतिबेला उनले अत्तालिएको आवाजमा उनले आफ्नो बालबच्चाको ख्याल राखिदिन भनेकी थिइन् । ‘त्यसपछि उ सम्पर्कमा आइन । अहिले वर्ष बित्दा पनि उसको खबर आएको छैन’, उनले भनिन् ।
बिना कहाँ गइन्, कता हराइन् ? वर्ष दिनसम्म परिवारलाई कुनै पत्तो छैन ।
घटना २ स् एजेन्टकै सेटिङमा सिन्धुपाल्चोककी २१ वर्षीया सरकिनी स्याङ्तान पनि ०८० जेठमा कुवेत पुगेकी थिइन् । अवैध रुपमा (भिजिट भिसा) कुवेत पुगेकी उनलाई एजेन्टले उनलाई अरबीकै घरमा घरेलु काममा लगाएको थियो ।
पहिलो ३ महिना स्याङ्तानलाई गाह्रो भएन, घरमा पनि पैसा पठाएकी थिइन् । त्यसपछि भने उनका दुःखका दिनहरु सुरु हुन थाले । दैनिकजसो १८ घण्टाको कामसँगै साहुको पनि दुर्व्यवहार खेप्न थालिन् ।
बेला–बेला घरमा फोन गरेको बखत आफूले पाएको दुःख परिवारलाई सुनाइरहिन्थन् । ६ महिना पछि भने परिवारसँग सबै सम्पर्क टुट्यो । ‘फोन पनि साहुले खोसिदिएको थियो । उसलाई के भयो ? कहाँ गई ? त्यसपछि कुनै खबर आएन । ८ महिनादेखि ऊ सम्पर्कमै छैन’, दाइ पानबहादुर लामाले भने ।
योबीच परिवारले उनको खोजतलासीका लागि अनेक प्रयास गर्यो । दूतावासमा पनि निवेदन दिए । तर, अहिलेसम्म कुनै सुइँको मिलेको छैन ।
परिवारलाई भने अरबीले घरमै बन्धक बनाएर राखेको आंशका छ ।
वर्षौदेखि सम्पर्कविहीन
कुवेत पुगेकी धादिङ रुबीभ्याली गाउँपालिका–४ कि खार्पामाया तामाङ १६ वर्षदेखि परिवारको सम्पर्क बाहिर छिन् । तत्कालीन समयमा उनी भारतको बाटो हुँदै दुबईबाट कुवेत पुगेकी थिइन् ।
सामान्य परिवारकी खोर्पा कुवेत जाँदा जम्मा १५ वर्षकी थिइन् । गाउँकै छिमेकीले उनका बुबाआमालाई राम्रो कमाइ हुने भन्दै लोभ देखाएर फकाएका थिए ।
‘उ १५ वर्षकीमात्र थिई, विदेश जाने उमेर पनि पुगेको थिएन’, खोर्पाकी दिदी बेजोम तामाङ भन्छिन्, ‘एजेन्टले नै उमेर बढाएर नागरिकता, पासपोर्ट बनाएर कुवेत लगे।’
कुवेत पुगेको ३ महिनासम्म खोर्पा परिवारको सम्पर्कमै थिइन् । त्यतिबेलासम्म ३० हजार रुपैयाँ जति घरमा पनि पठाएकी थिइन् । फोनमा कुरा पनि भइरहन्थ्यो ।
त्यसपछि एकाएक सम्पर्क बाहिर भएको पनि अहिले १५ वर्ष भइसक्यो । यो अवधिमा उनको परिवार कहाँकहाँ धाउनुपर्ने हो, सबै ठाउँमा पुगिसक्यो । तर, पनि कुनै सिप लागेको छैन ।
खोर्पाको खबर आउने आशमा परिवारको आँखा अझै पनि सल्लाझैं सुस्साइरहन्छ ।
‘छोरी हराएदेखि आमाका आँसु रोकिएका छैनन्’, दाइ पानबहादुर लामाले भने, ‘न बाँचेको खबर पाउँछ न मरेको १ हामी मन बुझाउनै सकिरहेका छैनौं ।’
परदेशमा कति महिला हराए ? तथ्यांक छैन
वैदेशिक रोजगारीका सिलसिलामा परदेश पुगेका यी घटना केवल अपवादमात्रै होइनन्, बर्सेनि थुप्रै महिला यसैगरी परदेशमै हराइरहेका छन् । कतिपय त वर्षौंदेखि परिवारको सम्पर्कमा छैनन् ।
उनीहरु कहाँ गए, कसरी हराए रु सरकारले न उनीहरुको खोजतलासी गरेको छ, न त कुनै तथ्यांक नै राखेको देखिन्छ ।
परदेशमा हराउने महिलाबारे सरकारी तथ्यांक नभए पनि विभिन्न गैरसरकारी संस्थाहरुले आफूहरुलाई प्राप्त विवरणका आधारमा तथ्यांक राख्ने गरेका छन् ।
वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्ने गरिरहेको प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) मा पछिल्लो पाँच वर्षमा २४१ जना श्रमिक हराएको भनेर परिवारले निवेदन दिएका छन् । त्यसमा २१ जना महिलाहरु छन्।
तथ्यांकले परदेशमा हराएका महिलाहरुमध्ये सबैभन्दा बढी खाडी मुलुकमा रहेको देखाउँछ । तथ्यांक अनुसार कुवेतमा ६, यूएईमा ४, जोर्डनमा २ जना, साउदी अरेबियामा २, कतारमा १ जना जना महिला सम्पर्क बाहिर छन् । त्यस्तै मलेशियामा ३, मालदिभ्समा २ जना महिला सम्पर्कविहीन भएका छन् ।
घरेलु कामदारका रुपमा कसरी पुग्छन् खाडीमुलुक ?
सरकारले खाडी राष्ट्रहरुमा महिलाको सुरक्षा दृष्टिकोणले नेपाली महिलालाई घरेलु कामदारमा पठाउन प्रतिबन्ध लगाएको छ । तर, विभिन्न बहानामा अवैध बाटोबाट खाडी मुलुकमा जाने क्रम भने रोकिएको छैन ।
भिजिट भिसामा अहिले पनि खाडी राष्ट्रहरुमा महिलाहरुलाई पठाउने कार्य भइरहेको छ । ‘राज्यले महिलाको सुरक्षाको दृष्टिकोणले प्रतिबन्ध लगाए पनि पठाउनेक्रम रोकिएन’, श्रम विज्ञ रामेश्वर नेपाल भन्छन्, ‘राज्यले प्रतिबन्ध लगाउने तर महिलाहरु जानेक्रम नरोकिएपछि यसले झन् ठूलो जोखिम निम्ताइरहेको छ।’
वैदेशिक रोजगारीमा गएकाहरुका उद्धार तथा खोजतालसी गरिरहेको संस्था वैदेशिक रोजगार उद्धार नेपालका अनुसार ‘फ्रि भिषा, फ्रि टिकेट’ मा पठाइदिने भनेर एकल र समस्यामा परेका महिलाहरुलाई विभिन्न प्रलोभनमा देखाएर दुबई हुँदै विभिन्न साउदी, कतार, ओमन, कुवेत, बहराइन लगायतका खाडी मुलुकहरु पुर्याइन्छ ।
संस्थाका अध्यक्ष इन्द्रलाल आलेले त्यसरी पुर्याएका महिलाहरुलाई एजेन्टले घरेलु कामदारका रुपमा अरबीका घरहरुमा बेचिन्छन् । ‘घरेलु कामदारमा अरबमा बेचिएका अधिकांश महिलाहरु श्रमदेखि यौन शोषणमा समेत पर्छन्’, उनले भने, ‘यसरी शोषणमा परेका महिलाहरु महिलाहरु कति आत्महत्या गर्छन्, कति मारिन्छन् र बेपत्ता पारिन्छन् ।’ कति भने परिवारसँग सम्पर्क गर्न नदिएर वर्षौ बन्धक बनाइएर राखिएका हुन्छन् ।
आलेका अनुसार अवैध रुपमा परदेशिएका महिला श्रमिकहरुलाई राज्यले समेत खोजी नगर्ने भएकाले उनीहरुको अवस्था खबर परिवारसम्म पुग्दैन । त्यही कारण पनि उनीहरु परिवारको नजरमा लामो समयदेखि बेपत्ता हुन पुग्छन् ।
उनले खाडी राष्ट्रबाट उद्धार गरिएका र हराएकाहरुको घटनाक्रम हेर्दा घरेलु कामदारमा महिलाहरु सुरक्षित नभएको बताउँछन् । भन्छन्, ‘एजेन्टबाट बेचिएकाले अरबीहरुले मन लागेको शोषण गर्छन् । परिवारसँग पनि सम्पर्क गर्न नदिएर वर्षौं बन्धक बनाइन्छन् ।’ अनलाइनखबर।