नेभिगेशन
नेपाल प्रहरी

'अन्डरवर्ल्ड एजेन्ट' हुँ भन्दै धम्की दिएर पैसा मागेको आरोपमा डाक्टर पक्राउ

काठमाडौं । ह्वाट्स एप मार्फत 'अन्डरवर्ल्ड एजेन्ट' हुँ भन्दै धम्की दिएर विभिन्न व्यक्तिहरुसँग रकम मागेको आरोपमा एक जना चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ।

आफू अन्डरवर्ल्ड एजेन्ट रहेको भन्दै ९७०९७०५२१५  नम्बरको ह्वाट्स एपबाट १९ जनालाई धम्की दिएर रकम माग गरेको र नदिएमा भारतको बिहार लगायत अन्य स्थानबाट कन्ट्याक्ट किलर प्रयोग गरेर ज्यान मार्ने धम्की दिएका भोजपुर-११ घर भएर हाल ललितपुरको सानागाउँ बस्ने ३२ वर्षीय डा.आशीष दाहाललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।

अपराध अनुसन्धानका एसपी काजीकुमार आचार्यका अनुसार आशीषले ह्वाट्स एपबाट मेसेज गर्दै ५० हजार देखी २ लाखसम्म रकम माग्ने यदि  नदिएमा ‘कन्ट्याक्ट किलर प्रयोग गरेर ज्यान मार्छु’ भनेर धम्की दिएको अनुसन्धानबाट खुल्न आएको हो।

पीडितहरुको जाहेरीका आधारमा अपराध अनुसन्धान कार्यालयको टोलीले आशिषलाई ग्वार्कोबाट मंगलबार पक्राउ गरेको एसपी आचार्यले बताए।

अमेरिका बसेर नेपाल फर्किएका आशिषले क्लिनिक खोल्नका लागि विज्ञापन गरेको र त्यतिबेला संकलन गरेको नागरिकतालाई मिस युज गरि खरिद गरिएका सिमकार्डबाट चिकित्सक तथा व्यापारीसँग पैसा मगेको अनुसन्धानका क्रममा खुलेको एसपी आचार्यले जानकारी दिएका छन् । 

प्रहरीको अनुसन्धानमा आशिषले जुवामा हारेको ४० लाख रुपैयाँ असुल्न ह्वाट्स एप मार्फत आफू  'अन्डरवर्ल्ड एजेन्ट' रहेको बताउने गरेको पाइएको हो। उनी ललितपुरकै एक क्लिनिकमा काम गर्दै आएको आचार्यले बताए।

पक्राउ परेका आशिषलाई आबश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको एसपी आचार्यले जानकारी दिएका छन् । 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्