काठमाडौँ । भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई शीतल निवासमा आयोजित कार्यक्रममा नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका हुन् ।
कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली लगायत उच्च पदस्थ अधिकारी एवं नेपाली सेनाका अधिकृतहरु सहभागी थिए । नेपाली सेना र भारतीय सेनाका प्रमुखलाई एक अर्काले मानार्थ महारथीको दर्जा दिने परम्परा रहेको छ ।
नेपाल–भारतबीचको सैनिक सम्बन्धको निरन्तरता स्वरुप सन् १९५० देखि दुवै देशले एक अर्काका प्रधान सेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहिआएको छ ।
यसअघि भारतका तत्कालीन राष्ट्रपति रामनाथ कोविंदले नेपालका तत्कालीन प्रधानसेनापति प्रभुराम शर्मालाई २०७८ कात्तिक २४ गते भारतीय स्थलसेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरेका थिए ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ भदौ २० गते भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गरेकी थिइन् ।
सन् १९५० मा भारतका सेनाध्यक्ष जनरल केएम परिअप्पालाई पहिलो पटक नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको थियो भने २०२६ सालमा तत्कालीन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई पनि पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीबाट सुशोभित गरिएको थियो ।
छिमेकी देशका सेनाबीचको यस्तो सम्मान परम्पराले सम्बन्धलाई सुमधुर तुल्याउन र सौहार्दता कायम राख्न महत्वपूर्ण कडीका रुपमा भूमिका खेल्ने विश्वास गरिएको छ । यसअघि बिहीबार बिहान द्विवेदीलाई नेपाली सेनाले जंगी अड्डामा आयोजित एक कार्यक्रममा गार्ड अफ अनरले सम्मानित गरेको थियो ।
द्विदेवी प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा बुधबार काठमाडौँ आएका हुन् । भ्रमणका क्रममा उनी पश्चिम पृतना हेडक्वाटरको भ्रमण पनि गर्नुका साथै उनले प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्रीसँग औपचारिक भेटवार्ता गर्ने नेपाली सेनाले जनाएको छ ।