नेभिगेशन
सुरक्षा अपडेट

काठमाडौं, सिन्धुपाल्चोक र दाङमा पाँच वटा शव भेटिए

काठमाडौं । देशका विभिन्न स्थानमा पाँच वटा शव फेला परेका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार आज काठमाडौंमा मात्रै तीन वटा शव फेला परेका हुन् ।  टोखा, दक्षिणकाली र गोकर्णेश्वरमा १-१ वटा शव फेला परेको प्रहरीले जानकारी दिएको छ।

टोखामा भेटिएको शव टोखा नगरपालिका-१० खरीबोटमा सत्कार खाजा पसल सन्चालन गर्दै आएका धरानका ५५ वर्षीय अर्जुनकुमार राईको रहेको छ भने उनको शव शव खाजा घरको अगाडि फेला परेको प्रहरीले जनाएको छ।

त्यस्तै दक्षिणकाली नगरपालिका-६ दक्षिणकाली सांस्कृतिक क्षेत्र सुधार समितिको वन जंगलको पानी ट्याङ्की नजिक खोल्सामा अन्दाजी ६० वर्षीय एक पुरुषको शव फेला परेको हो । उनको परिचय खुलिनसकेको नेपाल प्रहरीले जानकारी दिएको छ ।

गोकर्णेश्‍वर नगरपालिका-१ सुन्दरीजलस्थित निमा तामाङको घरको आँगनमा सोलुखुम्बु घर बताउने ५२ वर्षीय नर बहादुर राईको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।

सिन्धुपाल्चोकमा पनि ७० वर्षीय पुरुषको शव फेला परेको छ। सिन्धुपाल्चोकस्थित सुनकोशी गाउँपालिकामा-५  रतनकोट बस्ने ७० वर्षीय टीकाबहादुर विश्वकर्माको शव फेला परेको प्रहरीले जनाएको छ । विश्वकर्माको शव त्रिपुरासुन्दरी गाउँपालिका-३ तारकेनीस्थित हुन्दुङ खोल्साको किनारमा फेला परेको हो

यसैगरी, दाङको घोराहीमा पनि एक पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार  घोराही उपमहानगरपालिका-१२ डाँडा गाउँ बस्ने ५२ वर्षीय बुद्धिराम चौधरीको  सोही स्थान नजिक कुलोको छेउमा शव फेला परेको हो। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्